काठमाडौं । मानिसहरू महँगो उपचार खर्च र स्वास्थ्य सेवाको अभावले पीडित भइरहेका बेला ॐ समाज डेण्टल अस्पतालले एकैदिन राजधानीका तीन फरक स्थानमा स्वास्थ्य, दन्त तथा योग शिविर सञ्चालन गर्दै मानव सेवाको प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ । चन्द्रागिरी, बनस्थली, नैकाप तथा रामकोट क्षेत्रमा सम्पन्न यी कार्यक्रमले सयौं सर्वसाधारणलाई घरदैलोमै निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै समाजमा सकारात्मक ऊर्जा फैलाएको छ । चन्द्रागिरी नगरपालिकाको सहकार्यमा आयोजित बृहत् योग शिविरमा सहभागी योग प्रशिक्षकहरूले नियमित योग अभ्यासले शरीरलाई स्वस्थ, मनलाई शान्त र जीवनलाई अनुशासित बनाउने बताएका थिए ।
कार्यक्रममा सहभागीहरूले योग केवल शारीरिक व्यायाम नभई आत्मिक शान्ति, मानसिक सन्तुलन र स्वस्थ जीवनको आधार भएको अनुभव साटासाट गरेका थिए। पछिल्लो समय बढ्दो मानसिक तनाव, अनियमित जीवनशैली र विभिन्न रोगहरूको जोखिम बढिरहेका बेला योगले मानिसलाई नयाँ ऊर्जा दिने प्रशिक्षकहरूको भनाइ थियो। कार्यक्रममा सहभागीहरूले प्राणायाम, सूर्य नमस्कार, ध्यान तथा विभिन्न योग अभ्यास गरेका थिए । स्थानीय समुदायको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको थियो । धेरै सहभागीहरूले “यस्ता कार्यक्रमले समाजलाई सचेत र सकारात्मक बनाउँछ” भन्दै आयोजकप्रति आभार व्यक्त गरेका थिए ।
यसै क्रममा बनस्थली क्षेत्रमा ॐ समाज डेण्टल अस्पतालकी शाखा प्रमुख सबिना पपन गुरुङको नेतृत्वमा तथा नैकाप शाखामा अन्जना खड्काको नेतृत्वमा निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सञ्चालन गरिएको थियो । शिविरमा डा. दीक्षा चौधरी र सहायक क्रिस्टिना थापा मगरको सक्रिय सहभागिता रहेको थियो भने डाक्टर सोफिया राउत, डाक्टर सिमा यादव तथा सहायक जुनु पण्डितको सहकार्यमा दुई फरक स्थानमा सेवा विस्तार गरिएको थियो । शिविरमा निःशुल्क रक्तचाप परीक्षण, मधुमेह जाँच, सामान्य स्वास्थ्य परीक्षण, दन्त परीक्षण तथा आवश्यक परामर्श प्रदान गरिएको थियो । सेवाग्राहीहरूले घर नजिकै दक्ष चिकित्सकबाट सेवा पाउँदा खुसी व्यक्त गरेका थिए । आर्थिक अभावका कारण नियमित स्वास्थ्य परीक्षण गर्न नसकेका धेरै स्थानीयले यस्तो सेवा आफूहरूका लागि ठूलो राहत बनेको प्रतिक्रिया दिएका थिए ।
त्यसैगरी, पवित्र धाम बद्री नारायण, नागार्जुन–७ भिमढुंगा रामकोटमा ॐ समाज डेण्टल अस्पताल तथा M.N. Hospital को संयुक्त आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सम्पन्न भएको छ । धामका महासचिव विनोद ढकालको विशेष व्यवस्थापनमा सम्पन्न उक्त शिविरमा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । शिविरमा M.N. Hospital का चिकित्सकहरूको टोलीले डा. बिनोद कडेलको नेतृत्वमा स्वास्थ्य सेवा प्रदान गरेका थिए भने दन्त चिकित्सकहरूको टोलीले सबिना पपन गुरुङको नेतृत्वमा दाँतसम्बन्धी परीक्षण तथा परामर्श सेवा दिएको थियो ।
शिविरमार्फत सयौं सेवाग्राहीहरूले निःशुल्क स्वास्थ्य परीक्षण, दन्त उपचारसम्बन्धी सुझाव तथा आवश्यक स्वास्थ्य जानकारी प्राप्त गरेका थिए। बनस्थली शाखा प्रमुख सबिना पपन गुरुङले स्वास्थ्य सेवा केवल अस्पतालभित्र सीमित हुन नहुने बताउँदै समुदायमै पुगेर सेवा दिन पाउँदा आत्मसन्तुष्टि मिलेको बताइन् । “मानिसहरूको अनुहारमा खुसी देख्दा हाम्रो मेहनत सफल भएको महसुस हुन्छ,” उनले भनिन् । त्यसैगरी नैकाप शाखा प्रमुख अन्जना खड्काले एकैदिन फरक–फरक स्थानमा कार्यक्रम सञ्चालन गर्नु चुनौतीपूर्ण भए पनि सम्पूर्ण टिमको मेहनत र सेवाभावका कारण कार्यक्रम सफल भएको बताइन् । “हामी सेवा गर्न आएका हौं, प्रचार गर्न होइन,” उनले भावुक हुँदै भनिन् ।
सामाजिक अभियानता पत्रकार राजन थापाले समाजमा अझै धेरै नागरिक सामान्य स्वास्थ्य सेवाबाट वञ्चित रहेको अवस्थामा यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताए । उनले अस्पतालहरू केवल व्यापारिक केन्द्र नभई मानव सेवाको अभियान बन्नुपर्ने उल्लेख गर्दै ॐ समाज डेण्टल अस्पतालले समाजमै पुगेर दिएको सेवा उदाहरणीय रहेको धारणा व्यक्त गरे । त्यसैगरी सामाजिक अभियानता प्रकाश कुँवरले “समाजमा सेवा गर्ने नाममा प्रचार धेरै हुन्छ, तर व्यवहारमा काम गर्ने संस्था कम छन् ।
ॐ समाज डेण्टल अस्पतालले भने भाषण होइन, प्रत्यक्ष सेवा दिएर मानवताको उदाहरण प्रस्तुत गरेको छ,” भन्दै कार्यक्रमको प्रशंसा गरेका थिए । “योग, स्वास्थ्य र मानव सेवा नै स्वस्थ समाज निर्माणको आधार हो” भन्ने मूल सन्देशसहित सम्पन्न यी शिविरहरूले समुदायमा सकारात्मक ऊर्जा, सामाजिक एकता र सेवाभावलाई अझ मजबुत बनाएको विश्वास गरिएको छ । आयोजक संस्थाले आगामी दिनमा पनि यस्ता जनस्वास्थ्यमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
.gif)






.jpeg)
