काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ३ ले शैक्षिक सत्र २०८२ मा आफ्नो वडाबाट SEE तथा +२ उत्तीर्ण गर्ने विद्यार्थीहरूका लागि बधाई, सम्मान तथा प्रोत्साहन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। सोही अवसरमा आधारभूत पौडी प्रशिक्षण २०८३ मा सफलतापूर्वक सहभागी भएका प्रशिक्षार्थीहरूलाई समेत प्रमाण-पत्र प्रदान गरी हौसला प्रदान गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष प्रेम थापाले विद्यार्थीहरूलाई ठुलो मान्छे बन्ने लक्ष्य राख्नुभन्दा पनि असल र देशलाई माया गर्ने सच्चा राष्ट्रवादी नागरिक बन्न जोड दिनुभयो।
"जस्तुकै लक्ष्य हासिल गर्न पनि धैर्यता र निरन्तरको मिहिनेत अपरिहार्य हुन्छ," अध्यक्ष थापाले भन्नुभयो, "भौतिक पूर्वाधारको निर्माण मात्र विकास होइन, मानिसको आन्तरिक क्षमताको अभिवृद्धि हुनु पनि वास्तविक विकास हो।" आजका नवयुवालाई संस्कारयुक्त र सिर्जनशील वातावरण दिन सके मात्र भोलिको सुसंस्कृत समाज सम्भव हुने उहाँको अपेक्षा थियो। यसैगरी, शिक्षाको विकासमा विद्यालयको भन्दा घर-परिवारको भूमिका अझ महत्त्वपूर्ण हुने उल्लेख गर्दै उहाँले केवल सरकार वा विद्यालयको प्रयासले मात्र नपुग्ने र यसमा अभिभावकको भूमिका सबैभन्दा बढी हुने कुरामा जोड दिनुभयो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै वडा सचिव देवकी ढुङ्गानाले विद्यार्थी तथा अभिभावकहरूलाई स्वागत गर्नुभयो। स्थानीयवासीको निरन्तरको सहयोग र सहकार्यकै कारण वडाले विविध रचनात्मक तथा विकास निर्माणका कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गर्न सकेको सचिव ढुङ्गानाले बताउनुभयो। अहिलेका नवयुवाहरूलाई सत्मार्गमा डोऱ्याउन र उनीहरूभित्र आन्तरिक उत्प्रेरणा जगाउन यस्ता सम्मान तथा प्रोत्साहन कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। कार्यक्रममा वडा सदस्यहरू सीता थापा, कृष्णराज चालिसे, शर्मिला परियार र केशवप्रसाद श्रेष्ठले विद्यार्थीहरूलाई खादा ओढाएर सम्मान गर्नुभएको थियो।
त्यसैगरी वडाध्यक्ष प्रेम थापाले अभिभावकहरूकै उपस्थितिमा विद्यार्थीहरूलाई मायाको चिनो तथा प्रमाण-पत्र हस्तान्तरण गरी उनीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभएको थियो।
.gif)






.jpeg)
