काठमाडौं । झापाको दमकस्थित भाटभटेनी सुपर स्टोर मंसिर ५ गते शनिबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ । स्टोरले पुनः सञ्चालनसँगै दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिएका छन् । आगलागीका कारण ठूलो क्षति बेहोर्नुपरे पनि कम्पनीले व्यावसायिक गतिविधि र कर्मचारीप्रतिको जिम्मेवारीलाई निरन्तरता दिएको जनाएको छ ।
कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङका अनुसार भाटभटेनीमा कार्यरत १० हजारभन्दा बढी कर्मचारीको रोजगारीमा कुनै असर पर्न दिइएको छैन । क्षति भए पनि कुनै कर्मचारीलाई रोजगारीबाट अलग नगरिएको उनले स्पष्ट पारेका छन् । पूर्ण रूपमा आगलागी भएका स्टोरहरूको पुनर्निर्माणका लागि ठूलो समय, स्रोत र लगानी आवश्यक पर्ने भए पनि चौबीसै घण्टा कामलाई निरन्तरता दिँदै ग्राहकलाई पुनः सेवा प्रदान गर्न कम्पनी सफल भएको गुरुङले बताएका छन् ।
ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको कम्पनीले जनाएको छ । पुनः सञ्चालनको अवसरमा अध्यक्ष गुरुङले दुःखको समयमा साथ र सहयोग गर्ने सम्पूर्ण सहयोगी हात, पुनर्निर्माणमा चौबीसै घण्टा खटिने कर्मचारी तथा स्टोर पुनः सञ्चालनको प्रतीक्षामा रहेका ग्राहकप्रति आभार व्यक्त गरेका छन् । उनले आगामी दिनमा पनि ग्राहक, शुभेच्छुक तथा सरोकारवालाबाट निरन्तर साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।
.gif)






.jpeg)
