क्यानबेरा, अस्ट्रेलिया । अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ आगामी अक्टोबर २६ मा अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित संघीय संसद् भवनको थिएटरमा विशेष प्रदर्शन हुने भएको छ। अभिनाशविक्रम शाह निर्देशित चलचित्र अस्ट्रेलियाली संसद् भवनमा प्रदर्शन हुने पहिलो नेपाली चलचित्र बन्ने आयोजकले जनाएको छ।
अस्ट्रेलिया–नेपाल संसदीय मैत्री समूहको आयोजनामा हुन लागेको विशेष प्रदर्शनलाई क्यानबेरास्थित नेपाली दूतावास र फेडेरेसन अफ नेपाली कम्युनिटी एसोसिएसन अफ अस्ट्रेलिया (FeNCA) ले सहयोग गरेका छन्। कार्यक्रमको व्यवस्थापकीय जिम्मेवारी स्पिडविङ्स प्रालि अस्ट्रेलियाले सम्हालिरहेको छ। स्पिडविङ्सकी प्रमुख कार्यकारी अधिकृत शान्ति ढकालका अनुसार नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु, मानवीय सहयोगका लागि आर्थिक स्रोत जुटाउनु र नेपाल तथा अस्ट्रेलियाबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउनु कार्यक्रमको मुख्य उद्देश्य हो।
विशेष प्रदर्शनमा अस्ट्रेलियाली संसद्का सदस्यहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू, नेपाली समुदायका अगुवा, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। चलचित्र प्रदर्शनसँगै मानवीय सहयोगका लागि आर्थिक संकलनसमेत गरिने भएको छ। आयोजकका अनुसार नेपालको प्रधानमन्त्री राहत कोष र अस्ट्रेलियाको इमर्जेन्सी एक्सन एलायन्सका लागि सहयोग जुटाइनेछ। कार्यक्रममा सहभागीहरूले कार्यक्रमस्थलमा उपलब्ध क्यूआर कोड स्क्यान गरी स्वेच्छिक आर्थिक सहयोग गर्न सक्नेछन्।
अस्ट्रेलियाको संघीय संसद् भवनजस्तो महत्त्वपूर्ण स्थानमा नेपाली चलचित्र प्रदर्शन हुनुलाई नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ। यसले नेपाली कला, संस्कृति र सिर्जनात्मक क्षेत्रलाई अन्तर्राष्ट्रिय दर्शकमाझ चिनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ। क्यानबेराको विशेष प्रदर्शनपछि आगामी नोभेम्बर महिनामा अस्ट्रेलियाका प्रमुख सहरहरूमा समेत चलचित्र प्रदर्शन गर्ने तयारी भइरहेको छ।
ती प्रदर्शनमार्फत नेपाली चलचित्रलाई थप दर्शकमाझ पुर्याउनुका साथै मानवीय सहयोगका लागि आर्थिक स्रोत जुटाउने लक्ष्य राखिएको छ। नेपाली चलचित्रको प्रवर्द्धनसँगै सामाजिक सेवामा योगदान पुर्याउने यो पहलले नेपाल र अस्ट्रेलियाबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
.gif)






.jpeg)
