काठमाडौं । स्थानीय तथा रैथाने कृषि उत्पादनको प्रवर्द्धन, किसानको बजार पहुँच विस्तार तथा नेपाली मौलिक खाद्य संस्कृतिको संरक्षण गर्ने उद्देश्यले काठमाडौंमा ‘स्वर्णिम कृषि प्रदर्शनी तथा रैथाने व्यापार मेला २०८३’ आयोजना हुने भएको छ। रैथाने एग्री प्रडक्ट्स नेपाल र विश्व प्रकृति संरक्षण नेपालको संयुक्त आयोजनामा आगामी कार्तिक २० देखि २२ गतेसम्म काठमाडौंको धापासी हाइट, टोखा–४ स्थित रैथाने घरमा मेला सञ्चालन हुने आयोजकले जनाएको छ।
तिहार तथा छठ पर्वको अवसरमा आयोजना हुन लागेको मेलामा देशका विभिन्न हिमाली, पहाडी तथा तराई क्षेत्रका किसान, उत्पादक र साना उद्यमीले उत्पादन गरेका स्थानीय तथा रैथाने कृषि उपज, खाद्यवस्तु, परम्परागत परिकार, रैथाने बीउबिजन तथा वातावरणमैत्री कृषि सामग्रीको प्रदर्शनी तथा बिक्री गरिनेछ। मेलामा करिब ५० वटा स्टल रहनेछन्। तीन दिनमा करिब ५ हजार उपभोक्ता तथा सरोकारवालासम्म प्रत्यक्ष तथा अप्रत्यक्ष पहुँच पुग्ने र करिब २० लाख रुपैयाँ बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ। मेलाको पहिलो दिन कार्तिक २० गते दिउँसो १ बजे औपचारिक उद्घाटन कार्यक्रम हुनेछ।
त्यसपछि दिउँसो २ देखि ४ बजेसम्म राष्ट्रिय जीन बैंकको प्रस्तुतिसहित स्वर्णिम कृषिको अवधारणा, रैथाने बाली संरक्षण तथा कृषि जैविक विविधताको महत्वबारे अन्तरक्रिया तथा छलफल गरिनेछ। दोस्रो दिन कार्तिक २१ गते ‘नेपाली मौलिक खानाका परिकार र पर्यटन : चुनौती, अवसर र सम्भावना’ विषयमा छलफल तथा अन्तरक्रिया आयोजना हुनेछ। सो अवसरमा १५ वटाभन्दा बढी रैथाने तथा समुदायविशेषका मौलिक परिकार प्रदर्शनी तथा बिक्रीका लागि राखिने आयोजकले जनाएको छ।
त्यस्तै, तेस्रो दिन कार्तिक २२ गते आधुनिक तथा वातावरणमैत्री चुलोको महत्व, ऊर्जा बचत, धुवाँबाट हुने प्रदूषण न्यूनीकरण तथा रैथाने परिकार तयार गर्ने विधिबारे छलफल र व्यावहारिक अभ्यास गरिनेछ। सोही दिन दिउँसो १ देखि २ बजेसम्म स्थानीय महिलाको मौलिक पाककला तथा परम्परागत सीपको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले सेलरोटी बनाउने प्रतियोगिता आयोजना हुनेछ। प्रतियोगितामा १० जना स्थानीय महिलाको सहभागिता रहनेछ भने उत्कृष्ट तीन प्रतियोगीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ। मेलामा कृषि तथा खाद्य उत्पादनको प्रदर्शनी र बिक्रीसँगै थोपा सिँचाइ प्रविधि, गोबर मल, झोल मल, स्थानीय बीउबिजन, बिरुवा तथा अन्य वातावरणमैत्री कृषि सामग्रीको प्रदर्शन गरिनेछ।
यसका साथै दुना–टपरी गाँस्ने, दारको ठेकीमा मोही पार्ने, ढिकी, जाँतो र घट्टको प्रयोग तथा मकै भुट्ने लगायतका परम्परागत अभ्याससमेत प्रदर्शन गरिनेछ। यस्ता गतिविधिमार्फत नेपाली मौलिक ज्ञान, सीप, प्रविधि तथा परम्परागत जीवनशैलीको महत्व उजागर गर्ने लक्ष्य राखिएको आयोजकको भनाइ छ। आयोजकका अनुसार मेला तीन दिनको व्यापारिक गतिविधिमा मात्र सीमित नभई किसान, उत्पादक, उद्यमी, बजार र उपभोक्ताबीच दीर्घकालीन सम्बन्ध स्थापित गर्ने साझा अभियान हो। मेलाले स्थानीय उत्पादनको बजारीकरण, कृषि उद्यमशीलताको विकास, महिला तथा युवा उद्यमीको प्रोत्साहन र नयाँ पुस्तामा रैथाने कृषि तथा मौलिक खाद्य संस्कृतिप्रति रुचि अभिवृद्धि गर्न योगदान पुर्याउने विश्वास गरिएको छ।
आयोजक संस्थाले सरकारी निकाय, विकास साझेदार, निजी क्षेत्र, सहकारी, किसान समूह, उत्पादक, उद्यमी, शैक्षिक संस्था, सञ्चारमाध्यम तथा आम उपभोक्तालाई मेलामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ। स्थानीय उत्पादनको प्रवर्द्धन, किसानको आर्थिक सशक्तीकरण तथा नेपाली मौलिक खाद्य संस्कृतिको संरक्षण गर्ने अभियानमा सहकार्य गर्नसमेत आयोजकले अपिल गरेको छ।
.gif)






.jpeg)
