कविता: “मुस्कुराउने मन छ”
म यो सृष्टिको आधा हिस्सा, यो आकाशको आधा अंश, भन त कमजोर कसरी बन्न सक्छु?
म तिम्री जीवनदाता आमा, म तिम्री ममतामयी दिदी, यति लाचार कसरी बन्न सक्छु?
चुलो चौकोमा बन्दी म थाहा पाउदिनर? यी देशद्रोहीका तानाबाना
गोठ र करेसा बारीमा सिमीत म बुझ्न सक्दिन होला र देश विकासका योजना।
मलाई आज ती रोसा क्लारा जस्तै मुक्तिको सन्देश बोकी जुर्मुराउने मन छ
विगतका तीता पल, निःशासिंदा रातहरु बिर्सिएर उन्मुक्तिको सास फेर्दै मुस्कुराउने मन छ।
मलाई थाहा छ पासाङले हिमाल चढेको अमर इतिहास, अनि कमला कुँवरले नालापानीको किल्ला तोडेको अविस्मरणीय घटना
मैले पढेकोहो बेनेजीर भुटोको देशप्रतिको प्रेम, अझ मनमा गढेको छ मलालाको बालिका शिक्षाको अभियान ।
भन त कसरी कमजोर छन् महिला ? भारतपुत्री इन्दिरा गान्धीले शासन हाकेकै हुन्
बेलायत त के! विश्व हल्लाउँदै मार्गरेटले विकासको लहर ल्याएकै हुन्
साक्षी छ यो इतिहास अनि त्यो चाँगुनारायण राज्यवतीको नायबीको
योगदान भुल्दैन यो माटोले त्यो नाम वीरङ्गना राजेन्द्र लक्ष्मीको ।
मदर टेरिसाको आदर्श संगालेर मलाई झूपड बस्तीहरुको आशा बन्न मन छ
फ्लोरेन्सले झै दुःखी मनहरुलाई विश्वासका हातहरुले सुम्सुम्याउँदै जीवन जगाउने सपना छ।
संस्कारका नाममा लगाइएको बन्देज, पापको नाममा लगाइएको पर्खाल चेतनाको बलले भत्काउने मनछ
चम्पा, जूनकिरी, पम्फा, बाटुली बटुली सुनाउँदै योगमायाँको जीवनगाथा पलपल विजयको उल्लास मनाउँदै मुस्कुराउने मन छ ।
छायामा राखी महिलाहरुलाई महिलामाथि नै दमन गरिरहने यो पितृसत्ता भत्काउने साहस गरिएन किन?
हरपल आँसु बगाइरहे, चूपचाप पिडा सहिरहे हजारौँ महिला मिली स्वतन्त्रताको आवाज उठाइएन किन?
रोटीका निम्ति दिनरात रुँदै भाग्यलाई दोष दिने युग त अब गइसक्यो
ब्यूजन्छु म अब हिंड्नुछ लामो शिखरको यात्रा, उठ सकल महिला साच्चै ढिला भइसक्यो।
भो म अब सीता बन्दिन न बन्न सक्छु सत्य सावित्री, राधा र रुक्मिणी
कुल्चिरहेछौ वर्सौँदेखि मेरा रहरहरु, कहिले पूज्छौ सम्झदै योगदान म हुँ संसारकै जननी ।
हटाउँदै दुष्कृत्य मानवको सृष्टीमा नवीन र रंगीन फूल फुलाउने मन छ
बदल्दै सारा आमाहरुको जीवन पैलाउँदै नयाँ बाटाहरु सन्तोषको साथ मुस्कुराउने मन छ ।
नसम्झ म सती हुँ तिमीसँग जल्नेछु त्यो चितामा हजुरआमा जिजुमुमा झै दनदनी
नथुन छाउगोठमा सृष्टिलाई गर्दै अपमानऽ म उभीन सक्छु आज दुर्गा चण्डी बनी ।
बिर्सिएर आमाको काख अनि समात्दै ताते गरेका ती हातहरु भुल्दैछौ किन रसरङ्गमा
दुई पाङ्ग्रा बिना रथ गुड्छ र?अहंकारले केही मिल्दैन जीवनमा।
म माधवी होइन, गोमा ब्राह्मणी होइन, कसैले दान माग्देमा दिने विचार छोडिदेऊ
आऊ सघाउ यो स्वतन्त्रताको बिगुल फुक्न सक्दैनौ भने नबन बाधा पाइला अन्तै मोडिदेऊ ।
आउ गरौँ बराबरीको हिसाब, तेल थपिदेऊ समानताको, दीयो सँसँगै जलाउने मन छ
अन्त्य गर्दै लैङ्गिक विभेद, दमन र शोषन, एक नौलो बिहानी हेर्दै मुस्कुराउने मन छ।
रचयिता
नीरा अधिकारी “शयली”
उप–सचिव
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय
.gif)






.jpeg)
