Oct 22 2026 | २०८३, कात्तिक ६गते

images
ताजा अपडेट

images
images
images

वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको पुनःएकीकरणमा स्थानीय तहको भूमिका सुदृढ गर्नुपर्नेमा जोड


ग्लोबल पाना
सोमबार, असार १ २०८३
  • 421
    SHARES

  • images
    वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको पुनःएकीकरणमा स्थानीय तहको भूमिका सुदृढ गर्नुपर्नेमा जोड

    काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सम्मानजनक पुनःस्थापना, उनीहरूको सीप तथा अनुभवको सदुपयोग र दिगो जीविकोपार्जन सुनिश्चित गर्न स्थानीय तहको भूमिका थप प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

    images
    images
    images

    काठमाडौँस्थित होटल रोयल सिंगीमा जेठ ३१ गते सुरु भई  असार १ गते सम्पन्न हुने दुईदिने "वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरूको पुनःएकीकरण कार्यक्रमको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी नमुना निर्देशिका, २०८३" माथिको छलफल कार्यक्रममा सहभागीहरूले स्पष्ट नीति, पर्याप्त स्रोतसाधन र प्रभावकारी कार्यान्वयनको आवश्यकता औँल्याएका हुन् ।

    कार्यक्रमका प्रमुख अतिथि रहवर अन्सारीले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकले विदेशमा आर्जन गरेको सीप, अनुभव र ज्ञानलाई राष्ट्र निर्माणसँग जोड्न संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो ।

    माननीय प्रभा कार्कीले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकका समस्या संसदमा उठाउने प्रतिबद्धता जनाउँदै यो विषयलाई राज्यले धेरै पहिलेदेखि नै प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

    कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, विराटनगरकी सहायक सचिव दुर्गा भण्डारी बरालले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको पुनःएकीकरणलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा स्पष्ट कार्यविधि आवश्यक रहेको बताउनुभयो । उहाँले नमुना निर्देशिकाले श्रमिकको सीप र अनुभवलाई स्थानीय विकाससँग जोड्न सहयोग पुग्ने धारणा राख्नुभयो ।

    कार्यक्रममा विज्ञ काशीराज दाहालले नमुना निर्देशिकामाथि प्रस्तुतीकरण गर्दै यसको उद्देश्य, स्थानीय तहको भूमिका तथा श्रमिकको सीप र अनुभवलाई स्थानीय विकाससँग जोड्ने सम्भावनाबारे प्रकाश पार्नुभयो ।

    नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले उक्त नमुना निर्देशिकाले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको पुनःएकीकरण प्रक्रियालाई व्यवस्थित, प्रभावकारी तथा स्थानीय सरकारमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    मिर्चैया नगरपालिकाका प्रमुख श्रवण यादवले वैदेशिक रोजगारीका क्रममा श्रमिकमाथि हुने आर्थिक शोषणको विषय उठाउँदै वास्तविकभन्दा कम रकम उल्लेख भएका कागजातमा हस्ताक्षर गराउने प्रवृत्तिको अन्त्य हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    त्यसैगरी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तिर्थराज भट्टराई र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार शाहले पुनःएकीकरण कार्यक्रम प्रभावकारी बनाउन स्थानीय तहलाई आवश्यक स्रोत, अधिकार तथा स्पष्ट कार्यविधि उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रमको सहजीकरण ज्योति शर्माले गर्नुभएको थियो । उहाँले कार्यक्रमलाई व्यवस्थित र उपलब्धिमूलक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । विभिन्न स्थानीय तहका जनप्रतिनिधि, नीति निर्माता तथा सरोकारवालाबीच विचार आदानप्रदानलाई सहज बनाउँदै उठेका सुझाव, अनुभव र जिज्ञासालाई समेट्न उहाँले प्रभावकारी सहजीकरण गर्नुभएको थियो । 

    छलफलमा सहभागीहरूले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई केवल राहतको दृष्टिकोणबाट नभई स्थानीय विकासका साझेदारका रूपमा हेर्नुपर्ने धारणा राख्दै उनीहरूको पुनःएकीकरणलाई संस्थागत गर्न स्थानीय तहको क्षमता अभिवृद्धि र स्पष्ट नीतिगत व्यवस्था आवश्यक रहेको निष्कर्ष निकालेका छन् ।

    कार्यक्रमका सभाध्यक्ष तथा कागेश्वरी नगरपालिका प्रमुख उपेन्द्र कार्कीले छलफलका क्रममा उठेका सुझाव, जिज्ञासा र सरोकारका विषयलाई समेट्दै श्रमिकमैत्री नीति निर्माण तथा प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो । उहाँले छलफलबाट प्राप्त निष्कर्षहरूले नमुना निर्देशिकालाई अझ व्यवहारिक, समावेशी र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ