Oct 22 2026 | २०८३, कात्तिक ६गते

images
ताजा अपडेट

images
images
images

भोटेकोशी बाढीको असर, बालबालिका राति निद्राबाट ब्युँझिएर भाग्न खोज्छन् : सिजप


ग्लोबल पाना
शुक्रबार, भदौ २६ २०८३
  • 562
    SHARES

  • images
    भोटेकोशी बाढीको असर, बालबालिका राति निद्राबाट ब्युँझिएर भाग्न खोज्छन् : सिजप

    ललितपुर । राष्ट्रिय बाल दिवस २०८३ को सन्दर्भमा ‘विपद् मा बाल संरक्षण र बाल संवेदनशील पत्रकारिता’ विषयमा सञ्चारकर्मीसँग छलफल कार्यक्रम सम्पन्न भएको छ ।बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) को आयोजनामा तथा प्लान इन्टरनेश्नल (Plan international) को सहकार्यमा भएको कार्यक्रममा भोटेकोशी बाढीका कारण बालबालिकामा परेको प्रभाव, बाल संरक्षण, विपद्का समयमा बालबालिकाका लागि आवश्यक सेवा तथा राज्यको दायित्वलगायतका विषयमा छलफल गरिएको थियो । 

    images
    images
    images

    कार्यक्रममा सिजपका अध्यक्ष तिलौत्तम पौडेलले भोटेकोशी बाढीपछि बालबालिकामा देखिएको मनोसामाजिक असरबारे जानकारी गराउनुभयो । उहाँका अनुसार बाढीपछि केही बालबालिकामा डराउने, चिच्याउने, राति निद्राबाट ब्युँझिएर भाग्न खोज्ने, ‘ऊ आयो, ऊ आयो’ भन्ने, साथीहरू खोज्ने तथा राति घरबाहिर निस्कन खोज्नेजस्ता व्यवहार देखिएका छन् । पौडेलले बाढीबाट भएको क्षति, बालबालिकाको संरक्षणका लागि आवश्यक सेवा तथा होल्डिङ सेन्टरको वर्तमान अवस्थाबारे समेत जानकारी दिँदै विपद्का समयमा बालबालिकाको सुरक्षा, संरक्षण र मनोसामाजिक आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार धमेन्द्र झाले ‘बाढी लगायतका विपद् मा बालबालिकासम्बन्धी रिपोर्टिङ’ विषयमा प्रस्तुति दिनुभयो । उहाँले विपद्का घटनामा बालबालिकाका विषयलाई संवेदनशील ढंगले उठाउनुपर्ने बताउनुभयो ।

    झाले पत्रकारितालाई केवल जागिरका रूपमा मात्र नलिई समाजका महत्वपूर्ण मुद्दा उठाउने माध्यमका रूपमा लिनुपर्ने धारणा राख्नुभयो । “महिला, बालबालिका, ज्येष्ठ नागरिक लगायतका व्यक्तिहरुका मुद्दा खै ? पत्रकारले उठाउनुपर्छ,” भन्दै उहाँले सञ्चारमाध्यमले आवाजविहीन र जोखिममा रहेका समुदायका सवाललाई प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिनुभयो ।

    विपद्का समयमा बालबालिकाको अवस्था, उनीहरूको सुरक्षा, संरक्षण, शिक्षा, स्वास्थ्य तथा मनोसामाजिक आवश्यकताबारे तथ्यमा आधारित र बालमैत्री रिपोर्टिङ गर्न सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहने कार्यक्रममा बताइएको थियो ।

    कार्यक्रममा प्लान इन्टरनेसनलका पाेलिषी म्यानेजर इर्शाद अहमद अन्सारीले विपद्का समयमा सञ्चारकर्मीहरूले समाचार सम्प्रेषण गर्दा बालबालिकाका मुद्दालाई प्राथमिकताका साथ उठाउन आग्रह गर्नुभयो । उहाँले विपद्का कारण बालबालिकामा पर्ने मनोसामाजिक असर, सुरक्षा तथा संरक्षणका सवाललाई संवेदनशील ढंगले प्रस्तुत गर्न सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

    कार्यक्रमको सहजीकरण सिजपका महासचिव राजु घिमिरेले गर्नुभएको थियो । घिमिरेले विपद्का समयमा बालबालिकाको संरक्षणलाई अझ प्रभावकारी बनाउन सरोकारवाला निकायबीच निरन्तर सहकार्य र समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो । 

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ