ललितपुर । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (CZOP) को आयोजना तथा प्लान इन्टरनेशनलको सहकार्यमा आज भदौ २६ गते गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीले बालबालिकामा पारेको प्रभाव र सञ्चारकर्मीहरूको दायित्व विषयमा सञ्चारकर्मीहरूसँग छलफल गरियो । यस छलफलमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) तथा जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले भोटेकोसी (त्रिशूली) नदिमा आएको बाढी र बालबालिकाको वर्तमान अवस्था विपद् मा बालबालिकाका सवालहरू विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।
यस प्रस्तुतिका क्रममा उहाँले बाढी प्रभावित क्षेत्रहरूमा प्रत्यक्ष रूपमा अनुगमन गर्दा यो बाढीमा विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी महिलाहरू, अपाङ्गता भएका बालबालिकाहरू बढी प्रभावित भएको पाइएको बताउनु भयो । यसै क्रममा उहाँले रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ जिल्लाहरू बढी प्रभावित भएको र भदौ २६ गते सम्मको तथ्याङ्क अनुसार १३ सय ८५ को मृत्यु भएको, ५ हजार १३० जना बेपत्ता भएको बताउनु भयो ।
प्रस्तुतिका क्रममा अध्यक्ष पौडेलले रसुवा, नुवाकोट र धादिङ जिल्लाका ३२ वटा विद्यालयका ९ हजार ४ सय २८ जना बालबालिकाहरू प्रत्यक्ष रूपमा प्रभावित भएको, ती मध्ये १ हजार ३ सय ७३ जना बालबालिकाहरू विस्थापित भएर होल्डिङ् सेन्टरमा बस्दै आएको, प्रारम्भिक प्रतिवेदन अनुसार ४ सय ८८ जना विद्यार्थीहरू सम्पर्क विहीन भएको र ५ जना विद्यार्थीहरू मृत भेटिएको तथ्याङ्क रहेको बताउनु भयो ।
यस क्रममा उहाँले बाढीबाट प्रभावित बालबालिकाहरूको सुरक्षा, संरक्षण, शिक्षाका लागि सबै सरोकारवाला निकायहरूले वकालत तथा पैरवी गर्नु पर्ने, परिवार तथा अभिभावकहरू गुमाएका बालबालिकाहरूका लागि सरोकारवाला निकायहरू तथा राज्यले संवेदनशील भएर काम गर्नु पर्ने कुरमा जोड दिनु भयो । यस छलफलका क्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा ले बाढी लगायतका विपद् मा बालबालिका सम्बन्धी रिपोर्टिङका सन्दर्भमा पत्रकारिता शीर्षकमा प्रस्तुतीकरण गर्नु भयो ।
यस प्रस्तुतिका क्रममा उहाँले मिडियाले आवाज विहीनका आवाजहरूलाई प्राथमिकता दिएर प्रकाशन तथा प्रसारण गर्नु पर्ने, रिपोर्टिङ गर्दा बाल अधिकारको संरक्षण, गोपनीयता र मानसिक आघातबाट जोगाउनु पर्ने, बालबालिकाहरूको पहिचान र गोपनीयताको रक्षा गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
यसै गरी प्लान इन्टरनेशनलका पोलिसि मेनेजर इसार्द अहमद अंसारीले विपद्का समयमा बालबालिका सम्बन्धी रिपोर्टिङ गर्दा उनीहरूका मुद्दाहरूलाई विशेष प्राथमिकता दिनु पर्ने, उनीहरूको संवेदनशीलता प्रति ध्यान दिँदै गोपनीयताका विषयमा पनि विचार गर्नु पर्ने बताउनु भयो । यसै क्रममा उहाँले बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले बालबालिकाका क्षेत्रमा काम गर्ने क्रममा संस्थागत रूपमा आवश्यकता अनुसारको सक्दो साथ सहयोग गरी सहकार्य गरे काम गर्ने बताउनु भयो ।
उक्त कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले कुनै पनि सञ्चारमाध्यम तथा निकायहरू वा संघ संस्थाहरूले बालबालिकाको विषयमा गलत कार्य गरेमा वा तथ्य विहीन समाचार तथा जानकारी सम्प्रेषण गरेमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले प्रेस विज्ञयप्ती जारी गर्नु पर्ने, यस विषयमा सरोकारवाला निकायहरूसँग वकालत तथा पैरवी गर्नु पर्ने कुरमा जोड दिनु भएको थियो ।
.gif)






.jpeg)
