काठमाडौं । भगवान् श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा इजरायलको तेलअभिवमा रहेका नेपाली स–साना बालबालिकाले देखाएको मानवताको उदाहरणले सबैको मन छोएको छ । आफ्नै हातमा चन्दा बाकस बोकेर पसल–पसल र सडक–सडकमा पुग्दै उनीहरूले संकलन गरेको रकम नेपालका विपद्पीडित बालबालिकाको आँसु पुछ्ने प्रयास बनेको छ ।
रसुवा भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोमा अभिभावक गुमाएका बालबालिकाको पीडामा साथ दिन इजरायलमा रहेका नेपाली बालबालिकाले चन्दा संकलन अभियान सञ्चालन गरेका थिए। उनीहरूले संकलन गरेको २ लाख ८५ हजार रुपैयाँ नगद राहत अभिभावक गुमाएका २८ जना बालबालिकालाई प्रत्यक्ष रूपमा हस्तान्तरण गरिएको छ ।
यस मानवीय अभियानको संयोजन माँ पाथीभरा भक्ति समाज इजरायलकी संस्थापक अध्यक्ष इलित्रा क्षेत्रीले गरेकी हुन् । जन्मभूमिबाट हजारौँ किलोमिटर टाढा रहेर पनि नेपालमा विपद्मा परेका बालबालिकाको पीडा आफ्नै पीडाजस्तै महसुस गर्दै साना बालबालिकालाई नै राहत संकलन अभियानमा जोडिन प्रेरित गरिएको थियो । चन्दा संकलनका क्रममा बालबालिकाले पसल–पसल र सडकमा पुगेर स्वेच्छिक सहयोग मागेका थिए । उनीहरूको सानो प्रयासबाट जम्मा भएको रकम आज बाढीमा आमाबुबा गुमाएका बालबालिकाका लागि ठूलो आशाको सहारा बनेको छ ।
भोटेकोशी बाढीमा अभिभावक गुमाएका ती बालबालिका अहिले काठमाडौंको तारकेश्वर नगरपालिका–५, लोलाङ आसपास, सामाखुशी, कीर्तिपुर तथा स्वयम्भू क्षेत्रमा नातागोताको आश्रयमा बस्दै आएका छन् । बाढीले उनीहरूको घर मात्र होइन, बाल्यकालको सबैभन्दा ठूलो भरोसा—आमा र बुवाको साथसमेत खोसेको छ । यस्तो अवस्थामा विदेशमा रहेका नेपाली बालबालिकाले आफ्नो खुशीका लागि खर्च गर्न सक्ने रकमसमेत बचाएर पीडित बालबालिकाका लागि सहयोग जुटाउनु मानवीय संवेदनाको अनुपम उदाहरण बनेको छ ।
संकलित रकम रसुवाको आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुर्चुङ तामाङको अगुवाइ तथा रोहवरमा पीडित बालबालिकालाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा माँ पाथीभरा भक्ति समाज इजरायलका लागि नेपाल प्रतिनिधि सपना घले गुरुङले सम्बन्धित बालबालिकालाई नगद राहत रकम प्रदान गरेकी हुन् । राहत हस्तान्तरणका क्रममा बालबालिकाका आँखामा देखिएको भावुकता र अनुहारमा झल्किएको पीडाले उपस्थित सबैलाई भावुक बनाएको थियो। उनीहरूका लागि २ लाख ८५ हजार रुपैयाँ केवल नगद रकम होइन, विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनी र विशेषगरी साना बालबालिकाले पठाएको माया, भरोसा र आफ्नो मान्छेपनको सन्देश हो ।
इजरायलमा त्यसरी उठेको रकममध्ये नगद ५० हजार आयुश्री रेग्मीको आमाले सहयोग गरेको जानकारी माँ पाथीभरा भक्ति समाज इजरायलकी संस्थापक अध्यक्ष इलित्रा क्षेत्रीले जानकारी दिएकी छन् । विपद्ले अभिभावक गुमाएका बालबालिकालाई राज्य र समाजको निरन्तर साथ आवश्यक छ । यस्तो अवस्थामा विदेशमा रहेका नेपाली बालबालिका स्वयं सडकमा निस्किएर सहयोग जुटाउनु अझ प्रेरणादायी पक्ष हो। सानो हातले मागेको चन्दा, ठूलो मनले दिएको सहयोग र मातृभूमिका पीडित बालबालिकाप्रतिको अपार माया—इजरायलका नेपाली बालबालिकाले यसपटक मानवताको एउटा सुन्दर पाठ सिकाएका छन् । उनीहरूले प्रमाणित गरेका छन्— मातृभूमिबाट टाढा भए पनि मन नेपालमै हुन्छ, र उमेर सानो भए पनि मानवताको भावना ठूलो हुन सक्छ ।
.gif)






.jpeg)
