काठमाडौं । पशुबलिका नाममा हुने हिंसा अन्त्य गर्न र पशुपन्छीप्रति दया, करुणा तथा मानवीय व्यवहार अपनाउन आग्रह गर्दै एउटा भावनात्मक अभिव्यक्ति सार्वजनिक भएको छ । भैँसीको काल्पनिक दृष्टिकोणबाट प्रस्तुत गरिएको उक्त अभिव्यक्तिले धार्मिक आस्था र परम्पराका नाममा निर्दोष पशुपन्छीले भोग्नुपर्ने पीडामाथि प्रश्न उठाएकाे छ ।
म पनि यो संसारमा बाँच्न चाहन्थेँ । खुला आकाशमुनि रमाउन, हरियो घाँस खान र आफ्नै जीवन स्वतन्त्र रूपमा बिताउन चाहन्थेँ । तर भैँसी भएर जन्मिएकै कारण मेरो जीवन अरूको इच्छामा सीमित भयो ।
म जन्मिँदा मेरो कुनै दोष थिएन । न मैले कसैको केही बिगारेँ, न कसैलाई दुःख दिएँ । तैपनि मेरो भागमा किन पीडा मात्रै पर्यो ? किन मेरो जीवनको निर्णय अरूले गर्छन् ?
मलाई थाहा छैन, मलाई किन सजाइँदै छ ? किन मानिसहरू मेरो वरिपरि जम्मा भएका छन् ? किन मलाई लखेटिँदै छ ? म डराउँछु, छटपटाउँछु, बाँच्न खोज्छु । तर मेरो मौन चिच्याहट कसैले सुन्दैन ।
म बोल्न सक्दिनँ भन्दैमा मलाई पीडा हुँदैन र ? मेरो आँखाबाट आँसु झर्दैन र ? मलाई पनि डर लाग्छ, दुख्छ र बाँच्ने रहर हुन्छ ।
यदि म गाई भएर जन्मिएको भए पूजिन्थेँ होला । तर भैँसी भएर जन्मिएकै कारण मेरो जीवनको मूल्य किन फरक भयो ? के जीवनको सम्मान जात वा प्रजाति हेरेर गरिने कुरा हो ?
मलाई नेता बनाउनु पर्दैन, मन्त्री बनाउनु पर्दैन । मलाई केवल बाँच्न दिनुहोस् । मेरो पीडा बुझिदिनुहोस् । मेरो मौनतालाई सहमति नठान्नुहोस् ।
धर्म र संस्कृतिको सम्मान गरौँ, तर निर्दोष प्राणीको पीडा पनि बुझौँ। परम्परालाई करुणासँग जोडौँ, हिंसाको सट्टा अहिंसाको बाटो रोजौँ ।
बलि होइन, जीवन रोजौँ । हिंसा होइन, करुणा रोजौँ । पशुबलि बन्द गरौँ, हरेक जीवनको सम्मान गरौँ ।
.gif)






.jpeg)
