एजेन्सी । अर्जेन्टिनाका पिएसजी स्टार लियोनल मेसी फिफा वर्ष खेलाडी घोषित भएका छन्। अर्जेन्टिनालाई विश्वकप ट्रफी जिताउने कप्तान मेसी फिफा उत्कृष्ट वर्ष पुरूष खेलाडीको अवार्ड प्राप्त गर्न सफल भए।
सोमबार राति पेरिसमा एक कार्यक्रमबीच उत्कृष्ट तीनमा परेका फ्रान्सका केलियन एम्बाप्पे र करिम बेन्जिमालाई पछि पार्दै ३५ वर्षीय अर्जेन्टिना र पेरिस सेन्ट जर्मेनका फरवार्ड मेसीले अवार्ड हात पारे। फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले दिएको मतका आधारमा यसअघि अन्तिम तीनको मनोनयन सार्वजनिक भएको थियो।
अवार्ड विजेता मेसी कतार विश्वकपमा अर्जेन्टिनाले ३६ वर्षपछि उपाधि जिताउँदै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनेका थिए। त्यस्तै उनले सन् २०२१-२२ मा क्लब र देशका लागि ४९ खेलबाट २७ गोल गरेका छन्।
अवार्ड हात पारेपछि मेसीले भने ‘मेरा लागि यो एक महान वर्ष हो। यहाँ आएर यो अवार्ड जित्नु मेरो लागि गर्वको कुरा हो। यो अवार्ड सम्पूणर् साथीहरुप्रति समर्पित गर्न चाहन्छु।’ उनले साथीहरू बिना आफूले यो उपलब्धि हासिल गर्न नसक्ने बताएका थिए। साथै उनले भने ‘मैले लामो समयदेखि देखेको सपना पूरा गरेको छु। धेरै कम मानिसहरूले मात्र देखेको सपना पूरा गर्न सक्छन् र म त्यो अर्थमा भाग्यमानी छु।’
सन् २०१६ बाट सुरु भएको अवार्डमा मेसीसहित क्रिष्टियानो रोनाल्डो र रोर्बेटो लेवान्डोस्कीले २-२ पटक उपाधि जितेका छन्। यस्तै लुका मोड्रिचले १ पटक उपाधि जितेका छन्। सन् २०२१ अगस्ट ७ देखि २०२२ जुलाई २७ सम्मका खेलमा गरेको प्रदर्शनलाई आधार मानेर यो अवार्ड प्रदान गरिने गरेको छ।
त्यस्तै अर्जेन्टिनालाई तेस्रो पटक विश्वकपको उपाधि दिलाएका लियोनेल स्कालोनी वर्षको उत्कृष्ट पुरूष प्रशिक्षक घोषित भए। स्कालोनीले म्यानचेस्टर सिटीलाई छैटौं प्रिमियर लिग उपाधि जिताउने पेप ग्वार्डिओला र रियल म्याड्रिडका च्याम्पियन्स लिग विजेता प्रशिक्षक कार्लो एन्सेलोटीलाई पछि पारेका हुन्।
बार्सिलोनाकी एलेक्सिया पुटेलास वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भइन्। गत वर्ष घरेलु मैदानमा लियोनेसलाई युरोपियन च्याम्पियनसिपको महिमामा पुर्याएिपछि इङ्ल्यान्डकी प्रशिक्षक सारिना विगम्यान महिलातर्फको उत्कृष्ट प्रशिक्षक बनिन्।
एस्टन भिल्ला र अर्जेन्टिनाका एमिलियानो मार्टिनेज उत्कृष्ट पुरुष गोलकिपर घोषित भए। महिलातर्फ इङ्ल्यान्डकी मेरी अरप्सले अवार्ड जितिन्। ३० वर्षीय मार्टिनेजले फाइनलमा फ्रान्सविरुद्धको शुटआउट जितसहित चार पेनाल्टी बचाएर आफ्नो देशलाई विश्वकप जिताउन मद्दत गरेकी थिइन्।
पोल्याण्डका वार्टा पोजनानका एम्पुटी फुटबलर मार्सिन ओलेक्सीले वर्षको उत्कृष्ट गोलको लागि फिफा पुस्कास अवार्ड जितेका छन्। उनले बैसाखीको सहारामा जालको पछाडि उड्दै स्टाल रजेजो विरुद्ध उत्कृष्ट ओभरहेड भली गोल गरेका थिए। फेयर प्ले अवार्ड लुका लोचोसभिलीले पाए।
यी हुन् वर्ष विजेताहरूः
उत्कृष्ट पुरुष खेलाडीः लियोनल मेसी
उत्कृष्ट महिला खेलाडीः एलेक्सिया पुटेलास
उत्कृष्ट पुरुष गोलकिपरः एमिलियानो मार्टिनेज
उत्कृष्ट महिला गोलकिपरः मेरी अरप्स
उत्कृष्ट पुरुष प्रशिक्षकः लियोनेल स्कालोनी
उत्कृष्ट महिला प्रशिक्षकस् सरिना विग्म्यान
पुस्कास अवार्डः मार्सिन ओलेक्सी
उत्कृष्ट फ्यान अवार्डः अर्जेन्टिना फ्यान
उत्कृष्ट फेयर प्ले अवार्डः लुका लोचोसभिली
.gif)






.jpeg)
