काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एनएसआर स्पोर्टस फाउन्डेसन (काठमाडौँ म्याराथन)सँगको सहकार्यमा आयोजना गरेको १० हजार मिटर काठमाडौँ फिल्म फेस्टिभल हेरिटेज रन (सम्पदा दौड)मा महिलातर्फ कृतिका ह्याउमिखाले ५१ मिनेट ५८.५ सेकेण्ड र पुरुषतर्फ सलमान शेखले ३८ मिनेट ५६ सेकेण्डमा निर्धारित दुरी पार गरेर विजेता बन्नुभएको छ । आज बसन्तपुुरबाट सुरु भएर १० हजार मिटर दुरी पार गरिसकेपछि बसन्तपुरमै समापन भएको दौडमा महिलातर्फ जेनिशा राईले ५४ मिनेट २३ सेकेण्ड, निशा महर्जनले ५८ मिनेट २५.८ सेकेण्डमा दुरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गर्नुभयो ।
यस्तै पुरुषतर्फ समीर कन्दङ्वाले ४० मिनेट २५.८ सेकेण्डमा र सुरज शाहीले ४४ मिनेट २२.८ सेकेण्डमा दुरी पार गरेर क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गर्नुभयो । विजेता दुवै समूहका प्रथम, द्वितीय र तृतीयलाई काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले क्रमशः ५० हजार रुपियाँ, ३० हजार रुपियाँ र २० हजार रुपियाँसहित मेडल प्रमाण पत्र प्रदान गर्नुभयो । पुरस्कार प्रदान गर्दै कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, ‘काठमाडौँको सुन्दरता हेर्न, काठमाडौँको जनजीवनसँग सम्बन्धित सुगन्ध महसुस गर्न र पाइलैपिच्छे भेटिने सांस्कृतिक ऐतिहासिक महत्वका सम्पदा र स्थानको विशेषता बुझाउन दौड आयोजना गरिएको हो ।
हिँड्दा स्थानको सौन्दर्यलाई जति महसुस गर्न सकिन्छ । गाडीमा हिँड्दा त्यस्तो महसुस गर्न पाइँदैन ।’ उहाँले भन्नुभयो, ‘काठमाडौँमा बिहान जे देखिन्छ । जे पाइन्छ । दिनमा त्यो भन्दा छुट्टै परिवेश र साँझ तथा रातमा छुट्टै परिवेश हुन्छ । यो परिवेशलाई हिँडेरै मात्र महसुस गर्न र बुझ्न सकिन्छ । काठमाडौँको यो विशेषता हामी बुझाउन चाहन्छौँ । यसलाई प्रवर्धन गर्न हिँड्ने संस्कृतिको विकास गराउन चाहन्छौँ ।’ काठमाडौँ महानगरपालिकाले स्वस्थ सहर निर्माणका लागि खेलकुदलाई प्राथमिक योजनामा राखेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले, अहिले रचनात्मक उद्योग र काठमाडौँ फिल्म फेस्टिभलको सन्दर्भ पारेर दौड आयोजना गरिएको र यसबाट युवाहरुको आकर्षण रहेको बताउनुभयो ।
दौडमा सबैभन्दा पाको उमेरका ७५ वर्षिय मंगलदास तण्डुकार सहभागी हुनुभएको थियो । प्रतिस्पर्धामा सहभागी धावकलाई प्रवक्ता नविन मानन्धर, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतसहित वडाध्यक्षहरुले फिनिसिङ् मेडल प्रदान गर्नुभएको थियो । त्यस क्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नं. ८ का अध्यक्ष आशामान संगतले, काठमाडौँको मौलिक र जीवन्त पहिचानलाई चलचित्रमार्फत विश्व सामु लैजान चाहेको बताउँदै यसको प्रवर्धनका लागि दौडको आयोजना गरिएको बताउनुभयो ।
यस्तै विधायन समितिका संयोजक एवं वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जनले, वसन्तपुरसहित काठमाडौँका सांस्कृतिक सम्पदालाई पैदल मार्गबाट जोडिएको धारणा राख्नुभयो । दौडका लागि १५२ जना महिला (२२%) र ५५२ जना पुरुष (७८%) गरी ७०४ जना धावकले नाम दर्ता गर्नुभएको थियो । नाम दर्ता गर्नेमध्ये तोकिएको अवधि भित्र नाम दर्ता गर्ने ५५० जनाका धावक हुनुहुन्थ्यो । कार्यक्रमलाई प्राविधिक रुपमा सहयोग प्रदान गरेको एनएसआर स्पोर्टस फाउन्डेसन (काठमाडौँ म्याराथन)का प्रमुख आयोजक मिलेन्द्रराज श्रेष्ठका अनुसार करिब ५ सय बढी धावक प्रतिस्पर्धामा हुनुहुन्थ्यो । समयभित्र नाम दर्ता नभएका कारण प्रतिस्पर्धी नभए पनि धावकहरुले पनि कार्यक्रममा उत्साहका साथ भाग लिनुभएको थियो ।
यस्तै दौडमा महानगरपालिकाका अधिकारीहरु पनि अप्रतियोगी धावकका रुपमा सहभागी हुनुभएको थियो । सम्पदा दौड कार्यक्रममा धावकहरुको प्रोत्साहनका लागि एथलेटिक्सतर्फ पारालिम्पिक अष्ट्रेलियन खेलाडी क्याट्रिना वेब सहभागी हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, ‘म नेपाल आएको १८ पटक भयो । तर, यसप्रकारको सम्पदा दौड पहिलो हो । यसले प्रदान गरेको आनन्द भनेर साध्य छैन ।’ वेबले एथलेटिक्सतर्फ लगातार तीनवटा प्यारालिम्पिक खेलकुदमा स्वर्ण, रजत र कास्य पदक जित्नुभएको छ । उहाँ अन्तर्राष्ट्रिय वक्ता, नेतृत्व तथा व्यक्तिगत निपुर्णता सम्बन्धी परामर्शदाता पनि हुनुहुन्छ ।
निरोगिता (वेलविइङ) र लचिलोपन (रिजिलियन्स) विषयको प्रशिक्षक र फिजियोथेरापिस्ट पनि हुनुहुन्छ । धावकहरुलाई प्रोत्साहन गर्न नेपाली धावक सन्तोषी श्रेष्ठ, हरिबहादुर रोकायालगायत खेलाडीहरु सहभागी हुनुभएको थियो । श्रेष्ठ, १३ औँ दक्षिण एशियाली खेलकुदमा १० हजार मिटरतर्फका स्वर्ण पदक विजेता हुनुहुन्छ । उहाँलाई गोल्डेन गर्लका रुपमा चिनिन्छ । सन् २०२४ को पेरिस ओलम्पिकमा उहाँले म्याराथनमा सहभागिता जनाउनुभएको थियो । १९८८ मा सोल ओलम्पिक र १९९२ को वार्सिलोना ओलम्पिकमा सहभागिता जनाउनुभएका ओलम्पियन हरि बहादुर रोकाया विश्वको सर्वाधिक उचाइमा आयोजना हुने एभरेष्ट म्याराथनमा ३ पटक बिजेता बनेर विश्व कीर्तिमान राख्न सफल हुनुहुन्छ ।
सम्पदा दौड मार्गले महानगरपालिकाका वडा नं. १, ५, ७, ८, ९, ११, २२, २३, २४, २७, २८, २९ र ३० गरी १३ वटा वडा समेटेको थियो । महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले वीप हर्न बजाए पछि विहान ६ बजे दौड सुरु भएको थियो । वसन्तपुर डबलीबाट सुरु भएको दौड जुद्धशालिक वायाँ मोडिएर इन्द्रचोक पुगेको थियो । त्यसपछि असन, जमल, दरबार मार्ग महेन्द्र शालिकबाट नारायणहिटी संग्रहालयतर्फको सडकबाट नागपोखरी हुँदै नक्साल भगवती पुगेको थियो । त्यहाँबाट प्रहरी प्रधान कार्यालयतर्फको सडकबाट टंगाल माध्यमिक विद्यालय हुँदै गहनापोखरीबाट नरःदे (हाँडीगाउँ) डबलीतर्फ गएको थियो ।
डबलीबाट मालीगाउँ हुँदै दौड कालोपुल, कालोपुल उकालोबाट सिफल चौर, जयबागेश्वरी, गौशाला हुँदै रातोपुलतर्फ झरेर ज्ञानेश्वर नपुग्दै बायाँतर्फ मोडिएर मैतीदेवी पुगेको थियो, । डिल्लीबजारबाट अगाडि बढेपछि पुतली सडक चोकबाट बायाँ मोडिएर रामशाह पथ, पद्मोदय मोड पुगेपछि प्रदर्शनी मार्ग, भद्रकाली, सहिद गेट, धरहरा, खिचापोखरी, न्यूरोड हुँदै वसन्तपुर डबली पुगेर दौड सकिएको थियो । यो दौड काठमाडौँ फिल्म फेस्टिभलको पूर्व सन्ध्यामा गरिएको हो ।
महानगरपालिकाको आयोजनामा कार्तिक १३, १४ र १५ गते काठमाडौँ फिल्म फेस्टिभल आयोजना हुँदैछ । फेस्टिभलमा युथ च्यालेञ्ज, नेपाल पानोरामा र इन्टरनेशनल पानोरामा गरी ४० वटा चलचित्र, लघुचलचित्र र डकुमेन्ट्री प्रदर्शन गरिनेछन् । यस्तै रेड कार्पेट, मास्टर क्लास, प्यानल डिस्कसन, अवार्ड डिष्ट्रिब्युसन लगायत कार्यक्रम सञ्चालन हुनेछन् ।
.gif)






.jpeg)
