काठमाडौं । तारकेश्वर नगरपालिकाले सुदर्शन स्मृति खेलकुद मैदानलाई आधुनिक तथा बहुउद्देश्यीय मिनी स्टेडियमका रूपमा विकास गर्ने योजना अघि बढाएको छ । यसै सन्दर्भमा नगर प्रमुख कृष्ण हरि महर्जनले शिक्षा तथा खेलकुद मन्त्री एवं नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलसँग भेट गरी खेल मैदानको स्तरोन्नति तथा मिनी स्टेडियम निर्माणसम्बन्धी योजनाबारे महत्वपूर्ण छलफल गरेका छन् ।
छलफलका क्रममा सुदर्शन स्मृति खेलकुद मैदानलाई आधुनिक खेलकुद पूर्वाधारसहित विकास गरी स्थानीय तथा राष्ट्रिय स्तरका खेलकुद गतिविधि सञ्चालन गर्न सकिने बहुउद्देश्यीय संरचनाका रूपमा अघि बढाउने विषयमा विचार आदानप्रदान भएको थियो । उक्त छलफलमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साललगायत सम्बन्धित पदाधिकारीहरूको उपस्थिति रहेको थियो। नगर प्रमुख महर्जनको पहलमा अघि बढाइएको उक्त योजनाबारे थप अध्ययन तथा अवलोकन गर्न मन्त्री पोखरेलले छिट्टै सुदर्शन स्मृति खेलकुद मैदानको स्थलगत भ्रमण गर्ने जानकारी दिएका छन् ।
मिनी स्टेडियम निर्माणको योजना कार्यान्वयनमा आएमा तारकेश्वर क्षेत्रमा खेलकुद पूर्वाधारको विकास हुनुका साथै स्थानीय खेलाडीलाई अभ्यास, प्रशिक्षण तथा प्रतियोगितामा सहभागी हुने अवसर विस्तार हुने अपेक्षा गरिएको छ । यसले विशेषगरी युवा पुस्तालाई खेलकुद क्षेत्रमा आकर्षित गर्न र नगरपालिकाको खेलकुद पहिचानलाई राष्ट्रिय स्तरसम्म स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
खेलकुद पूर्वाधारको विकासलाई प्राथमिकतामा राख्दै तारकेश्वर नगरपालिकाले अघि सारेको यो पहललाई नगरको दीर्घकालीन खेलकुद विकासका लागि महत्वपूर्ण योजनाका रूपमा हेरिएको छ ।
.gif)






.jpeg)
