काठमाडौं । सुनिता फाउण्डेशनले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका कार्यक्रम तथा गतिविधिको सामाजिक परीक्षण सम्पन्न गरेको छ । संस्थाको कार्यप्रगति, उपलब्धि, चुनौती, पारदर्शिता तथा जवाफदेहिताको समीक्षा गर्दै आगामी कार्यदिशालाई थप प्रभावकारी बनाउने उद्देश्यले शुक्रबार (नोभेम्बर ६, २०२६) सामाजिक परीक्षण कार्यक्रम आयोजना गरिएको हो । फाउण्डेशनकी अध्यक्ष तारा देवी खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मानव बेचबिखन अनुसन्धान ब्युरो, राष्ट्रिय महिला आयोग, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा फाउण्डेशनकी जिल्ला अधिकृत अमृता तिवारीले स्वागत मन्तव्य राख्दै सामाजिक परीक्षणको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो । सामाजिक लेखा परीक्षक तथा कार्यक्रम सहजकर्ता बालमुकुन्द आचार्यले आर्थिक वर्ष २०८२/८३ को वार्षिक सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा फाउण्डेशनले निश्चित उद्देश्य निर्धारण गरी सोहीअनुसार कार्यक्रम सञ्चालन गर्दै आएको, व्यवस्थित अभिलेखीकरण तथा डकुमेन्टेसन गरेको, सम्बन्धित नियामक निकायमा दर्ता भई समयमै नवीकरण गर्दै आएको र वैज्ञानिक संगठनात्मक संरचना रहेको उल्लेख गरिएको थियो ।
त्यसैगरी, वार्षिक तथा आवधिक कार्ययोजना निर्माण, सरोकारवालासँगको समन्वय, कार्यसमिति बैठकको नियमितता, पूर्वस्वीकृतिपछि परियोजना सञ्चालन तथा स्थानीय तहसँग समन्वय गरी स्थानीय सरकारको रातो किताबमा समावेश गर्ने कार्यलाई संस्थाका सबल पक्षका रूपमा औँल्याइएको थियो । लाभग्राहीको जीवनमा सकारात्मक परिवर्तन सामाजिक परीक्षणका क्रममा सुनिता फाउण्डेशनबाट विभिन्न जिल्लामा सञ्चालित कार्यक्रमबाट लाभान्वित व्यक्तिहरूले आफ्ना अनुभव सुनाउँदै संस्थाप्रति खुसी तथा आभार व्यक्त गरेका थिए । फाउण्डेशनको सहयोगबाट कतिपय लाभग्राहीका बालबालिकाले शिक्षा प्राप्त गर्ने अवसर पाएका छन् भने बाख्रा अनुदान प्राप्त गरेका व्यक्तिहरूले बाख्रापालनमार्फत आयआर्जन गर्दै आर्थिक अवस्था सुधार गर्न सफल भएको अनुभव सुनाएका थिए ।
त्यस्तै, कतिपयलाई दियाे बनाउने तालिम प्रदान गरिएको, बिरामी पर्दा आर्थिक सहयोग उपलब्ध गराइएको तथा सीप र स्वरोजगार प्रवर्द्धनका लागि धागो सहयोग गरिएको पाइएको छ । धागो सहयोग प्राप्त गरेका लाभग्राहीहरूले त्यसबाट विभिन्न प्रकारका कपडा तथा हस्तकलाका सामग्री उत्पादन गरी बिक्री गर्दै आम्दानी गर्ने गरेका छन् । विशेषगरी धागोबाट तयार गरिएका सामग्री नेपालमा मात्र नभई अमेरिका लगायतका अन्य देशमा समेत पुग्ने गरेको लाभग्राहीहरूले बताएका थिए । सीप विकास, उत्पादन र बजारसम्मको पहुँचका कारण आफूहरू आत्मनिर्भर बन्न सहयोग पुगेको भन्दै उनीहरूले सुनिता फाउण्डेशनप्रति धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै शक्ति समूहकी कार्यकारी निर्देशक बालकुमारी दर्नालीले सामाजिक क्षेत्रमा क्रियाशील संघसंस्थाहरूबीच आपसी सहयोग, सहकार्य र समन्वय अपरिहार्य रहेको बताउनुभयो । उहाँले संस्थाहरूले एकअर्काका अनुभव, ज्ञान र सीप आदानप्रदान गर्दै सामाजिक क्षेत्रमा प्रभावकारी काम गर्नुपर्ने धारणा राख्दै आगामी दिनमा पनि आपसी सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै, शुभ अवसर ग्राम नेपालकी रञ्जना शर्माले सुनिता फाउण्डेशनले सामाजिक क्षेत्रमा अत्यन्त राम्रो काम गरिरहेको भन्दै संस्थाका गतिविधिको प्रशंसा गर्नुभयो । आफन्त नेपालका अध्यक्ष मोहन चौलागाईंले सरकारी निकायहरूले काम गर्दा कुनै पनि प्रकारको विभेद नगरी समान व्यवहार र अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । सामाजिक क्षेत्रमा क्रियाशील सबै संस्थाका कामहरुलाई समान रूपमा हेर्दै सहकार्य र समन्वयको वातावरण बनाउनुपर्ने उहाँको भनाइ थियो ।
मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी निरीक्षकले सुनिता फाउण्डेशनले गरिरहेको कामको प्रशंसा गर्दै बालबालिकाको संरक्षणका लागि सबै सामाजिक संघसंस्था मिलेर प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । विशेषगरी १८ वर्षमुनिका बालबालिकालाई लक्षित गरी सचेतनामूलक तथा संरक्षणमुखी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । साथै, मानव शरीरका विभिन्न अंगको अवैध बिक्री तथा ओसारपसारजस्ता गम्भीर अपराध न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । त्यसैगरी, मेलम्ची नगरपालिकाका मेयरले सबैलाई आफ्नो शरीरको सुरक्षा आफैँ गर्न सक्ने गरी सचेत बनाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले शरीरको संवेदनशीलता, व्यक्तिगत सुरक्षा र सम्भावित जोखिमबारे जानकारी दिने चेतनामूलक कार्यक्रममार्फत समुदायमा जनचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो ।
खुला छलफल र संस्थाको प्रतिबद्धता प्रतिवेदन प्रस्तुतिपछि आयोजित खुला छलफलमा सहभागीहरूले फाउण्डेशनका गतिविधि, कार्यसम्पादन, उपलब्धि तथा सुधार गर्नुपर्ने विषयमा आफ्ना धारणा, जिज्ञासा र सुझावहरू राखेका थिए । छलफलमा उठेका सवालहरूको सम्बोधन फाउण्डेशनकी प्रबन्ध निर्देशक अधिवक्ता स्वस्तिका दनुवारले गर्नुभएको थियो । सामाजिक परीक्षणले संस्थाका काम तथा प्रगतिबारे सरोकारवालालाई जानकारी गराउने, विभिन्न पक्षका दृष्टिकोण सुन्ने र आगामी दिनमा कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन आवश्यक सुझाव तथा प्रतिक्रिया प्राप्त गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको फाउण्डेशनले जनाएको छ ।
फाउण्डेशनले कार्यक्रममा सहभागी सरकारी निकायका प्रतिनिधि, नागरिक समाजका अगुवा, सञ्चारकर्मी, लाभग्राही तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्दै पारदर्शिता, जवाफदेहिता र मानव अधिकारमा आधारित दृष्टिकोणलाई आत्मसात् गरी आगामी दिनमा समेत सहकार्य र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता जनाउदै फाउण्डेशनकी अध्यक्ष तारा देवी खनालले धन्यवाद ज्ञापनसहित कार्यक्रम समापन गर्नुभएको थियो ।
.gif)






.jpeg)
