टर्की । जलवायु परिवर्तन न्यूनीकरण तथा दिगो फोहोर व्यवस्थापनमा शून्य फोहोर -जिरो वेस्ट) को भूमिका उजागर गर्ने उद्देश्यले क्रिएसन नेपालले कोप–३१ अन्तर्गत टर्कीको अन्टाल्यामा आयोजना गरेको विशेष सम्वाद कार्यक्रम सम्पन्न भएको छ । सन् २०२६ नोभेम्बर ११ मा नेपालको राष्ट्रिय पेभिलियनमा उक्द सम्वाद कार्यक्रम आयोजना गरिएको थियो । उक्त छलफलका लागि आवश्यक महत्वपूर्ण स्थान तथा अवसर उपलब्ध गराएकोमा क्रिएसन नेपालले नेपाल सरकारको कृषि, वन तथा वातावरण मन्त्रालयप्रति आभार व्यक्त गरेको छ ।
कार्यक्रममा क्रिएसन नेपालकी महासचिव रोशना सुवेदीले छलफलको सहजीकरण तथा प्रतिनिधित्व गर्न पाउँदा खुसी व्यक्त गर्दै दिगो फोहोर व्यवस्थापनका लागि सबै पक्षको सक्रिय, समावेशी र एकीकृत सहभागिता आवश्यक रहेको बताइन् । छलफलमा नेपालका सांसद सागर ढकाल वक्ताका रूपमा सहभागी भएका थिए ।
त्यसैगरी, अफ्रिका सर्कुलरका बीएसएफ सिस्टम्स विज्ञ पिओत्र बार्चाक, दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम -साकेप) का महानिर्देशक नोर्बु वाङ्चुक, चिलीको राष्ट्रिय फोहोर संकलक संघकी अध्यक्ष तथा रेडलाक्रेको अन्तर्राष्ट्रिय सचिवालय सदस्य सोलेदाद मेल्ला र इन्टरएक्टिभका संस्थापक महाप्रबन्धक तथा उपाध्यक्ष एवं क्लाइमको टर्कीका कार्यकारी बोर्ड सदस्य भोल्कान उरालको सहभागिता रहेको थियो ।
छलफलमा बीएसएफ प्रणाली तथा फोहोर व्यवस्थापनका व्यावहारिक समाधान र विश्वव्यापी अनुभवमार्फत चक्रीय अर्थतन्त्रतर्फको संक्रमणलाई तीव्र बनाउने उपायबारे पिओत्र बार्चाकले आफना विचार प्रस्तुत गरेका थिए । उनले वृहत एकिकृत जैविक रुपमा कुहिने फोहोरमैला व्यवस्थापनको बिषयमा जोड दिएका थिए ।
त्यस्तै, नोर्बु वाङ्चुकले दक्षिण एसियाली क्षेत्रीय दृष्टिकोण प्रस्तुत गर्दै दिगो फोहोर व्यवस्थापन र चक्रीय अर्थतन्त्रको प्रवर्द्धनका लागि क्षेत्रीय सहकार्य तथा साझेदारीको आवश्यकतामाथि जोड दिएका थिए। सोलेदाद मेल्लाले फोहोर संकलक तथा व्यवस्थापनमा संलग्न श्रमिकहरूको भूमिका, उनीहरूको योगदानको पहिचान र समावेशी फोहोर व्यवस्थापन प्रणालीको महत्वलाई उजागर गरेकी थिइन्। त्यसैगरी, भोल्कान उरालले उद्योग क्षेत्रको दृष्टिकोणबाट चक्र्रीय समाधान, स्रोतको पुनःप्राप्ति तथा दिगो फोहोर व्यवस्थापनका सम्भावना र व्यावहारिक उपायबारे धारणा राखेका थिए ।
कार्यक्रममा शून्य फोहोरको भविष्य निर्माणका लागि सामूहिक प्रतिबद्धता, समावेशी सहभागिता र चक्रीय अर्थतन्त्रको प्रवर्द्धनमा थप प्रभावकारी कदम चाल्नुपर्ने विषयमा जोड दिइएको थियो। फोहोरमैला व्यवस्थापनलाई केवल सरसफाइको विषयमा सीमित नराखी जलवायु परिवर्तन न्यूनीकरण, स्रोत संरक्षण र दिगो विकाससँग जोडेर अघि बढाउनुपर्ने सन्देशसमेत छलफलले दिएको छ ।
क्रिएसन नेपालले शून्य फोहोरतर्फको परिवर्तनलाई गति दिन सरकार, निजी क्षेत्र, नागरिक समाज, समुदाय तथा आम नागरिक सबैको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्दै यस अभियानको महत्वपूर्ण हिस्सा नागरिक स्वयं भएको सन्देश दिएको छ। शून्य फोहोरको भविष्य निर्माणका लागि छुटेको महत्वपूर्ण कडी तपाईं नै हुनुहुन्छ भन्ने सन्देशसहित संस्थाले सबैलाई दिगो फोहोर व्यवस्थापन र चक्रीय अर्थतन्त्रको अभियानमा सहभागी हुन आहवान गरेको छ।
.gif)






.jpeg)
