Oct 28 2026 | २०८३, कात्तिक १२गते

images
ताजा अपडेट

images
images
images

जावलाखेलमा १९औँ गोदावरी फूलको प्रदर्शनी हुँदै, १ करोड ३० लाखको कारोबार लक्ष्य


ग्लोबल पाना
मंगलबार, कात्तिक ११ २०८३
  • 103
    SHARES

  • images
    जावलाखेलमा १९औँ गोदावरी फूलको प्रदर्शनी हुँदै, १ करोड ३० लाखको कारोबार लक्ष्य

    काठमाडौं । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना हुने भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा कात्तिक १२ देखि १६ गतेसम्म पाँच दिन प्रदर्शनी सञ्चालन हुनेछ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रदर्शनीमा १ करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने र ३९ हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको जानकारी दिएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ जावलाखेल खेल मैदानमा आयोजना हुने प्रदर्शनीमा ८६ वटा स्टल रहनेछन् । फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार प्रदर्शनीमा ७८ वटा व्यावसायिक, चारवटा अफिसियल, दुईवटा प्रतियोगितात्मक, एउटा प्लान्ट क्लिनिक र एउटा फोटो सेल्फी स्टल रहनेछन् । उनले यस वर्ष इलाम, पोखरालगायत देशका विभिन्न स्थानमा समेत पुष्प प्रदर्शनी आयोजना हुने जानकारी दिए ।

    images
    images
    images

    गोदावरी फूलको व्यावसायिक उत्पादन, विकास, विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रदर्शनीमा पाँच विधामा प्रतिस्पर्धा हुनेछ । मिनिएचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर विधामा नर्सरी तथा फर्महरूले उत्पादन गरेका फूलबीच प्रतिस्पर्धा गराइनेछ। यस वर्षदेखि कट फ्लावरतर्फ ‘उत्कृष्ट पुष्प सजावट’ विधासमेत थप गरिएको फ्यानका उपाध्यक्ष एवं मेला संयोजक सुमन महर्जनले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट स्टलसहित विभिन्न विधामा प्रथम, दोस्रो र तेस्रो हुने नर्सरी तथा फर्मलाई सिल्ड, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ ।

    प्रदर्शनीमा नेपालमै व्यावसायिक रूपमा उत्पादन गरिएका गोदावरी फूलका विभिन्न जात तथा यस वर्ष भित्रिएका नयाँ प्रजातिसहित ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवा बिक्री र प्रदर्शनीका लागि राखिनेछन् । गोदावरी फूलका अतिरिक्त तिहारमा प्रयोग हुने सयपत्री, मखमलीलगायत मौसमी फूल तथा सजावटका लागि उपयोगी बोटबिरुवासमेत उपलब्ध हुने आयोजकले जनाएको छ । फूल तथा बिरुवाको व्यावसायिक उत्पादन सुरु गर्न चाहने र घरबगैँचा सजाउन इच्छुक व्यक्तिलाई उत्पादन प्रविधि तथा व्यवस्थापनसम्बन्धी जानकारीसमेत प्रदान गरिने फ्यानका महासचिव हिरामणि शर्माले बताए । त्यसैगरी, फूल तथा बोटबिरुवामा लाग्ने रोग र कीरासम्बन्धी समस्या पहिचान गर्न प्रदर्शनीस्थलमा बालीरोग विशेषज्ञसहितको प्लान्ट क्लिनिक सञ्चालन गरिनेछ। क्लिनिकमार्फत सर्वसाधारणले बिरुवाको स्वास्थ्य परीक्षण तथा आवश्यक प्राविधिक परामर्श लिन सक्नेछन् ।

    प्रदर्शनी अवधिमा सामाजिक उत्तरदायित्वअन्तर्गत लायन्स क्लब अफ ग्लोबल फ्लोरिकल्चरसँगको सहकार्यमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिने आयोजकले जनाएको छ । तिहार तथा छठ पर्वका बेला फूलको माग बढ्ने भएकाले प्रदर्शनीले स्वदेशी पुष्प उत्पादनको प्रवर्द्धन, फूलको बजार विस्तार र पुष्प व्यवसायीलाई व्यापारिक अवसर उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, फूल तथा बोटबिरुवाको व्यावसायिक उत्पादनमा आकर्षण बढाउन र नेपाली पुष्प व्यवसायको विकासमा योगदान पुर्‍याउने आयोजकको विश्वास छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ